रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न न्यायाधीश श्रेष्ठ दिए आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति एवं सांसद रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिइएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार रिट दर्ता गर्न आदेश दिएको हो ।

उक्त रिट गएको वैशाख २५ गते सर्वोच्च अदालतमा लगिएको थियो । वैशाख २८ मा सर्वोच्च प्रशासनले रिट दरपिठ गरेको थियो ।

सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट पुनः दर्ताका लागि युवराज पौडेल ‘सफल’ ले यही जेठ २ मा निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता गरी अघि बढाउन आदेश दिएको हो ।

“तिलप्रसाद श्रीमान्को इजलासबाट यसअघि वैशाख २८ मा प्रशासनबाट दरपिठ भएको रिट दर्ताका लागि आदेश भएको छ,” रिटकर्ता पौडेलले भने, “लिखित आदेश आइसकेको छैन । ३ बजेभित्र लिखित आदेश आएमा आजै रिट दर्ता हुन्छ ।”

सफलले लामिछाने सांसद हुन अझै अयोग्य रहेको रिटमा जिकिर गरेका छन् । लामिछानेले पुनः नागरिकता प्राप्तिको प्रक्रिया पूरा नगरी नागरिकता लिएको र त्यही आधारमा उपनिर्वाचनबाट निर्वाचित भएको उनको जिकिर छ ।

यसअघि, लामिछानेले अमेरिकाको नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले गत माघ १३ गते सांसद पद खारेज गरेको थियो । उक्त रिट दर्ता गराएका सफलले नै फेरि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट लगेका हुन् ।