सांसदहरुलाई बाँड्न भन्दै खरिद गर्न लागिएको ल्यापटप खरिद प्रक्रिया स्थगित

काठमाडौं । सांसदहरुलाई बाँड्न भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलले १ सयवटा ल्यापटप खरिद गर्न टेण्डर प्रक्रिया सुरु गरेको थियो ।

जसमा प्रदेशसभा सचिवालयले एक हप्ता अगाडि ल्यापटप खरिद प्रक्रियाका लागि टेण्डर नै आह्वान गरेको थियो । यसैबिच ल्यापटप खरिद प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस संसदीय दल र नेकपा माओवादी केन्द्रले सचिवालयबाट उपलब्ध गराइने ल्यापटप अस्वीकार गर्ने जनाएका थिए ।

यस पटक बजेट पुस्तिकामा ल्यापटप वितरण गर्न बजेट विनियोजन गरिएको थिएन । तर, मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास बजेट रकमान्तर गरेर संसद् सचिवालयलाई बजेटको व्यवस्था गराएका थिए । आर्थिक मामिला तथा योजना मन्त्रालय उनै मुख्यमन्त्री कार्कीको नेतृत्वमा छ ।

प्रदेशमा सञ्चालन भइरहेका कतिपय विकासे आयोजनाको बजेट भुक्तानीमा समस्या भइरहेको बेला सरकारले भने सांसद फकाउन ल्यापटप वितरण गर्न लागेको भन्दै यसको चर्को आलोचना भएको थियो ।

यि व्यापक आलोचनाका बिच प्रदेशसभा सदस्यका लागि भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलले खरिद गर्न लागिएको ल्यापटपको खरिद प्रक्रिया स्थगित गर्न अनुरोध गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमाले संसदीय दलको बैठकले ल्यापटप हाललाई आवश्यक नभएको जानकारीसहित संसद् सचिवालयलाई पत्राचार गर्ने निर्णय गरेको बताए ।

‘अघिल्लो आर्थिक वर्षमा सरकारले बजेट तथा कार्यक्रममा यो विषय उल्लेख भएको रहेछ । त्यही बजेट र कार्यक्रमको आधारमा सचिवालयले ल्यापटप खरिद गर्ने प्रक्रिया सुरु गरेको रहेछ,’ भण्डारीले भने, ‘त्यसकारण हामीले दलको धारणा सार्वजनिक गर्नुपर्छ भन्ने लाग्यो । अहिले पूर्वाधार विकास र जनसेवाको क्षेत्रमा बजेट अभाव भइरहेको बेला यो चाहिँदैन भन्ने निर्णय गरेका छौं ।’

अहिलेका लागि कम्प्युटरसँग सम्बन्धित काम गर्न आफूहरुसँग पीए रहेको, संसद् सचिवालयले उपलब्ध गराएको दलको कार्यालयमा कम्प्युटर पनि रहेको, कतिपय काम एन्ड्रोइड मोबाइलबाटै पनि हुने भएकाले ल्यापटप नचाहिने भण्डारीले बताए ।

उनले ल्यापटप खरिद गर्न लागेको विषयमा वर्तमान सरकारप्रति भइरहेको आलोचना र टिप्पणीप्रति दुःख व्यक्त गरे । ‘यो वर्तमान सरकारले गरेको विषय होइन,’ भण्डारीले भने, ‘तर, एमाले र वर्तमान सरकारलाई जोडेर गरिएको प्रचारप्रति हामी दुःख व्यक्त गर्दछौं ।’