शरणार्थी प्रकरण : तथ्यविहीन विषयहरू बाहिर ल्याएर अतिरञ्जित बनाउन खोजियो : आईजीपी कुँवर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी संगठनको नाम लिएर आफुलाई फसाउन खोजिएको दाबी गरेका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरी संगठनलाई बदनाम गराउन यस्तो गरिएको दाबी गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समयमा आईजीपी कुँवरको नाम जोडेर विभिन्न सञ्चार माध्यममा समाचार आएपछि प्रतिकृया दिँदै आईजीपी कुँवरले यस्तो बताएका हुन् । ‘प्रहरी संगठनलाई बदनाम बनाउन केही समूह सक्रिय भएको देखिन्छ,’ आईजीपी कुँवरले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा दर्ता आफ्नो पालामा भएको भए पनि आफू त्यहाँबाट बढुवा भइसकेको उनले प्रतिक्रिया दिएका छन् ।

नक्कली शरणार्थी प्रकरणमा आइजिपी कुँवरले आफू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा हुँदा राम्रो अनुसन्धान नगरेको भन्दै समाचार आएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टेकनारायण पाण्डेले केशव दुलाल र सानु भण्डारीसँग सामाजिक सञ्जालमा कुराकानी भएको विषय अहिले बाहिर आएको छ ।

चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनका आन्तरिक विषयहरू र विना प्रमाण र तथ्यविहीन विषयहरू बाहिर ल्याएर विषयलाई अतिरञ्जित बनाउन खोजिएको आईजीपी कुँवरको भनाइ छ ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले ५८ दिन लामो अनुसन्धान गरेर सोमवार सरकारी वकिलको कार्यालयमा रायसहित १७८ पेजको प्रतिवेदन बुझाएको छ ।

आज सरकारी वकिलको कार्यालयले प्रतिवेदनको आधारमा कसलाई के मुद्दा चलाउने भन्ने निर्णय गरेर जिल्ला अदालत काठमाडौंका मुद्दा दर्ता गर्ने तयारी गरेको छ । प्रहरीले ३० जना प्रतिवादीलाई मुद्दा दर्ता गर्नुपर्ने राय दिएको छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेलगायत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालगायतका १४ अझै फरार रहेका छन् ।

ताजा अपडेट