भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न प्रधानमन्त्री र गृहमन्त्री किन डराएको : लामिछाने

फाईल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जस जसको नाम आएको छ छानबिनका लागि प्रधानमन्त्री र गृहमन्त्री छानबिन किन डराएको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको नियमित बैठक शुरु हुनुअघि नै सभापति लामिछानेले छानबिन गर्न किन डराएको भनी सरकारलाई प्रश्न गरे ।

उनले भने, ‘भ्रष्टाचारका विषयलाई लिएर हामीले बारम्बार कुरा उठाउँदै आइरहेका थियौँ । तीन राजनीतिक दलहरु खुसुरखुसुर बसेको कुरालाई लिएर आशंका व्यक्त गर्दै आइरहेका थियौँ । आज कुनै राजनीतिक दल बाँकी रहेको छैन जसले आरोप लाग्न बाँकी रहेको होस् । तीमात्र हैन राज्यका निकायहरुको नाम यसरी आइरहेको छ अनुसन्धान गर्ने अधिकारी, त्यसका प्रमुखहरुको नाम आइरहेको छ । यस्तो अवस्थामा यो कुनै अँध्यारो कोठामा, कुनै गल्लीमा भएको क्रियाकलाप छैन । दिउँसो, दिनदहाडै, दिनको उज्यालोमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री क्वार्टरमा, मन्त्री बस्ने सिंहदरबारमा लेनदेन भएको यस्ता विषयहरु आइरहेका छन् र यहाँ मुछिएका मान्छेहरु हेर्नुहोस्, यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ?’

उनले कसैको पनि विश्वास गर्ने वातावरण नभएको भन्दै अगाडि भने, ‘यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ । जुन जुन निकायहरु यसमा लागिपरेका छन् कसैको पनि विश्वास गर्ने वातावरण नभएको हुनाले जस जसको नाम आएको छ तिनलाई छानबिनकोसम्म दायरामा ल्याउन नहुने, सोधपुछसम्म गर्न नहुने गरी किन डराएको हो ? गृहमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो । प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो । उहाँको मुटु कहाँ गएर चेक गर्ने ?’

प्रकरणमा पक्राउ परेकाले नाम लिएका व्यक्तिउपर छानबिन नगरेको भन्दै आपत्ति जनाएका लामिछानेले दोषीलाई उम्काउन खोजिएको आशंका पनि व्यक्त गरे ।

यसर्थ नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रास्वपाले माग गरेपछि सभामुख देवराज घिमिरेले यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

ताजा अपडेट