भुटानी शरणार्थी प्रकरण : अनुसन्धानमा कुनै प्रकारको दबाब, प्रभाव नहोस् प्रहरीलाई निर्देशन दिएको छु : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै प्रकारको दबाब, प्रभाव नहोस् तथा अवाञ्छित प्रभावबाट मुक्त होस् भनेर प्रहरीलाई निर्देशन दिएको बताएका छन् ।

बिहीबार मन्त्रालयमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

‘आर्थिक र अरू प्रकारका चलखेल हुने गरेको भनेर त्यो सुनिन्छ, त्यसबाट मुक्त रहोस् भनेको छु। स्वतन्त्र, निष्पक्ष भएर छानबिनब अगाडि बढाउने र त्यसलाई निष्कर्षमा पुर्‍याउने अठोट छ,’ उनले भने, ‘आशंकाको आधारमा, राजनीतिक वा मनोगत पूर्वाग्रहका आधारमा कोही निर्दोष फस्ने वा सार्वजनिक प्रष्ठिामा आँच पुर्‍याउने काम नहोस् भनेर भनेको छु।’

‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर, अर्काको देशको शरणार्थी बनाएर विदेश पठाउने योजना बनाएर, सम्पत्ति आर्जन गर्ने धन्दा भयो, यसमा हामी लज्जित छौं। राज्यकै निकायमा भएको मानिसहरूबाट नै यो प्रकारको काम भयो भनेर अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएर अहिले मुद्दा अदालतमा पेश गरेका छौं,’ उनले भने।

उनले ३० जनामागि मुद्दा चलाउँदैमा अनुसन्धान नसिकने बताए। उनले थप अनुसन्धान पनि भइरहेकाले कोही निर्दोष फस्ने र दोषी उम्कने आशंका व्यक्त नगर्न आग्रह गरे।

‘अहिलेको प्रहरीको अनुसन्धानको ढोका खुला छ। प्रहरीले अरू प्रक्रियामा जस्तै बयानहरूलाई पनि आधार बनाएको छ। बयानसँग मेल खानेगरी अरू तथ्य प्रमाण पनि खोजी गरिएको छ। जोडेर अगाडि बढाइएको छ,’ उनले भने।

एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरू तौरतरिकाबाट पनि अनुसन्धान भइरहेको बताए।

‘अरू प्रमाणहरूको खोजी पनि गर्ने, अनुसन्धानको अरू विधि–प्रक्रिया अवलम्बन गर्ने भन्ने छ,’ उनले भने, ‘कसैले भन्यो भन्ने आधारमा मुद्दा चलाउन मिल्दैन होला। त्यसकारण प्रहरीले खाली बयानको आधारमा मात्र होइन तथ्य प्रमाणसँग पनि त्यसलाई जोडेर अगाडि बढाइरहेको छ।’

उनले मुद्दा अदालतमा पुगिसकेकाले फैसलालाई पर्खनुपर्ने बताए।