सरकारले हाम्रा नेता–कार्यकर्तालाई सुरक्षा दिन सक्दैन भने एमालेले आफ्नो सुरक्षा आफ्नै गर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले) लेका सांसद योगेश भट्टराईले सरकार हाम्रा नेता–कार्यकर्तालाई सुरक्षा दिन सक्दैन भने एमालेले आफ्नो सुरक्षा आफ्नै गर्छ भन्दै गृहमन्त्रीलाई चुनौती दिएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै सांसद योगेश भट्टराईले यस्तो बताएका हुन्।

‘के सत्तापक्ष हामीसँग भिड्न खोजेको होरु यदि सरकार हाम्रा नेता–कार्यकर्ता, एमालेलाई सुरक्षा दिन सक्दैन भने एमालेले आफ्नो सुरक्षा आफ्नै गर्छ म गृहमन्त्रीलाई चुनौती दिन चाहन्छु,’ उनले भने।

उनले सत्तापक्षले नै अराजकता सिर्जना गरिरहेको समेत आरोप लगाए।

उनले विराटनगरमा एकजना प्रदर्शनकारीको मृत्यु भएको बताउँदै उनको मृत्यु कसरी भयो भनेर सरकारले जवाफ दिनुपर्ने बताए।

उनको आन्दोलनकारीकै लाठीबाट मृत्यु भएको कुरा बाहिर आएको बताउँदै यथार्थ सरकारले बताउनुपर्ने भट्टराईको भनाइ थियो।

‘प्रदेशको अस्थायी राजधानी केन्द्रले तोकेको हो। नाम र स्थायी राजधानीका सन्दर्भमा के गर्ने त्यो सम्बन्धित कुरा हो। गत फागुन १७ गते कोशी प्रदेशको नाम दुई तिहाइभन्दा बढी प्रदेश सभाका सदस्यहरूले तय गरेका हुन्। तर, त्यसैलाई लिएर एमालेलाई निशानामा पारिएको छ। एमालेका अध्यक्ष केपी ओली, उपाध्यक्ष सुवास नेम्वाङलाई एम्बुस थापेर मार्ने काम भयो,’ उनले भने, ‘तर, सरकार रमिता हेरिरहेको छ। केही गर्दैन।’

उनले प्रदेश सभा सदस्य राम रानामाथि इलामको सोम्याक भञ्ज्याङ र उपसभामुख सिर्जना दनुवारमाथि उदयपुरमा आक्रमण प्रयास हुँदा पनि सरकारले सुरक्षा नदिएको बताए।

एमाले सचिवसमेत रहेका भट्टराईले जातिजाति, धामिर्क र सम्प्रदायका नाममा राजनीति नगर्न पनि चेतावनी दिए।