भुटानी शरणार्थी प्रकरण : आजबाट खाँणका वकिलले बहस गर्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार पूर्व गृहमन्त्री बालकृष्ण खाँणका कानुन व्यावसायीहरुले बहस गर्ने भएका छन् । खाँणको पक्षमा बसहका लागि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले तयारी गरेका छन् ।

काठमाडौं जिल्ला अदालतमा भईरहेको थुनछेक बहसमा अझै ६ जना प्रतिवादीका कानुन व्यावसायीहरुले बहस गर्न बाँकी छ । प्रतिवादीहरुले बहसका लागि वकिलको लर्को लगाएका कारण थुनछेक बहस लम्बिएको छ । १८ जना अभियुक्तहरुको पक्षमा बहस गर्न ११० जना कानुन व्यावसायीले नाम लेखाएका छन् ।

जिल्ला अदालतले थुनछेक बहसका लागि तोकेको समय अवधि मंगलबार सकिंदैछ । तर,बहसका लागि नाम लेखाएका आधा कानुन व्यावसायीको बहस भने बाँकी नै छ । वहसको कार्यतालिका अनुसार मंगलबार प्रतिवादीहरुको बहस सकेर भोलि सरकार पक्षबाट जवाफी बहस हुनुपर्ने हो । अब, थुनछेक बहसको प्रक्रिया सकिएपछि इजलाशले थुनामा पठाउने वा धरौटीमा छाड्ने भन्ने आदेश दिनेछ ।