टेकनाथका वकिलको जिकिर : अभियोग कहीँ कतै बाट पुष्टि हुँदैन, साधारण तारेखमा रिहा गरिनुपर्छ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका वास्तविक शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट ७ जना अधिवक्ताहरुले बहस गरेका छन् । बहसका क्रममा उनीहरुले रिजालमाथिको अभियोग पुष्टि हुन नसक्ने जिकिर गरे ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा चिया ब्रेकअघि रिजालतर्फका ७ जना वकिलले बहस गर्दै उनीमाथि लागेका कुनै पनि अभियोग पुष्टि नहुने जिकिर गरे ।

अर्का प्रतिवादीबाट रिजालले ११ लाख रुपैयाँ लिएको आरोप लगाइएपनि त्यसबारे कहीँ कतै पुष्टि हुन नसक्ने रिजालको वकिलहरुको जिकिर थियो ।

रिजालको तर्फबाट चिया ब्रेकअघि अधिवक्ताहरु राजकुमार सुवाल, सम्बेश्वर कडरिया, राजेन्द्र घिमिरे, अनिल लाल, दुर्जेजंग थापा, प्रतिभा भट्ठराई र प्रकाश बस्नेतलले बहस गरेका छन् । चिया ब्रेक पछि थप केही अधिवक्ताले बहस गर्ने बताइएको छ ।

बहसका क्रममा सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा रिजालको संलग्नता नभरहेको जिकिर गरे । शरणार्थीको कार्ड बनाउने कार्य रिजालको नभई यो कार्य गृह मन्त्रालयको भएकाले त्यसमा रिजालको संलग्नताको सवाल नै नभएको जिकिर गरे ।

उनले अपराधीलाई भेट्दैमा केही अपराधी हुन नसक्ने उनको भनाइ थियो । उनी निर्दोष रहेकाले साधारण तारेखमा रिहा गरिनुपर्ने वकिलहरुको धारणा थियो ।