पहिरोमा परि चार जना बेपत्ता

काठमाडौं । विगत चार दिनदेखिको अविरल वर्षाका कारण ताप्लेजुङ र पाँचथरको जनजीवन कष्टकर बन्दै गएको छ । गएराति ताप्लेजुङको मैवाखोलामा आएको बाढीले दोभान बजारका डम्बर धिताललगायत अन्य स्थानीयको पाँच वटा घर उच्च जोखिममा परेको छ ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा ताप्लेजुङका सभापति ईन्द्र गुरुङका अनुसार तत्काल मैवाखोला गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिका आवतजावत गर्ने मैवाखोला दोभानको पुल छेउको बाटोमा क्षति पुगेका कारण दुवै गाउँपालिकामा सवारी साधन आवागमन अबरुद्ध भएको छ ।

त्यस्तै ताप्लेजुङ सिदिङवा गाउँपालिका ६, मेहेलेमा गएरातिको भीषण वर्षापछि गएको पहिरोमा यादव बुढाथोकीको घर परेको छ । उनका परिवारका तीन जना बेपत्ता भएका छन् भने थप एकजना पनि बेपत्ता रहेको जनाइएको छ ।

लगातारको वर्षापछि पाँचथरको हेवा खोलामा आएको बाढीले मेची राजमार्गको पाँचथर ताप्लेजुङ खण्डको हेवाखोला पुल बगाएको छ । पुल बगाएपछि मेची राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।