पहिरोमा पुरिएकी बालिकाको ६ घन्टापछि गरियो जिवितै उद्धार

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका-३ पहिरोले पुरेर बेपत्ता भएकी ८ वर्षीय बालिकाको ६ घन्टा पछि सकुशल उद्धार गरिएको छ।

गएराति हजुरबुबा मनप्रसादसँगै सुतेकी जुना घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता भएकी थिइन्।

उनलाई आज बिहान स्थानीयले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ। पहिरो आउँदा मनप्रसाद भने घरबाहिर थिए।

‘म पिसाब गर्न घरबाहिर निस्केको थिएँ । त्यहिबेला पहिरोले म संगै सुतेकी नातिनी सहित घर पुर्‍यो,’ मनप्रसादको भनाइ उदृध गर्दै एक प्रहरीले भने।

फालेलुङमा गएराती अविरल वर्षासङै आएको बाढिपहिरोले हिवाखोलामा अवस्थित मोटरेबल २ वटा पुल, झोर्लुङ्गे पुल १ र २ वटा जेविवी बगाइसकेको छ।

फालेलुङ ७ देखि फालेलुङ ३ माछेबुङमा जोडिने घुमाउनेटारको निर्माणाधीन मोटरेबल पुल पनि बाढीले बगाएको छ । पुल बनाउन प्रयोग गरिएका दुइवटा जेसिवी पनि बगाएको प्रहरीले जनाएको छ ।

यस्तै फालेलुङको वडा नम्बर ५ र ३ जोड्ने माछेबुङ मोटरेबल पुल पनि बाढीले बगाएको छ।