भुटानी शरणार्थी प्रकरण : अदालतले फरार अभियुक्तका नाममा म्याद जारी गर्दै

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादी बनाइए पनि फरार रहेका व्यक्तिका नाममा म्याद जारी हुने भएको छ। काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणको मुद्दाका फरार अभियुक्तलाई अदालतमा हाजिर हुन भन्दै म्याद जारी गर्ने तयारी गरेको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रासद न्यौपानेले मुद्दाको थुनछेक आदेश सुनाएको थियो। अभियोपत्रसँग अदालतमा पेस भएका १८ जनामध्ये अदालतले १६ जनालाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

प्रतिवादी बनाएर अदालतमा पेस गरिएका लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको थियो।

जिल्ला अदालतको आदेशपछि ‘हाई प्रोफाइल’ अभियुक्तहरु पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, एमाले नेता रामबहादुर थापा बादल गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायाण पाण्डेसहित १६ जना कारागार चलान भएका छन्।

प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। जसमध्येका १२ जना अझै फरार छन्।

फरार हुनेमा पूर्व गृहमन्त्री बादलका छोरा प्रतिक थापा, पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राईसहित छन्।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालका अनुसार शुक्रबार नै इजलासले उनीहरुको नाममा म्याद जारी गर्ने आदेश गरेको थियो। आइतबारदेखि म्याद पठाउने काम सुरु भएको उनले बताए।

अदालतले पठाएको म्याद बुझेमा उनीहरु आफैं अदालत उपस्थित भएर थुनछेक बहस हुनेछ। तोकिएको समयमा म्याद नबुझ्ने वा आउन अस्वीकार गरेमा पक्राउ गरेर अदालत पेस गरिने दाहालले बताए। प्रतिवादीहरुले म्याद बुझ्न नचाहेमा अदालतले वडा कार्यालयको रोहवरमा प्रतिवादीको ठेगानामा सूचना टाँस गरि मुचुल्का उठाउँदै म्याद तामेली भएको मान्ने छ। यसरी म्याद तामेल भएपछि उपस्थित नभएकाको हकमा अदालतले पत्रिकामा समेत सूचना जारी गर्ने छ। उक्त सुचनाको म्यादभित्र पनि अदालत उपस्थित नभएमा एकपछिय रुपमा मुद्दा अघि बढ्दै फैसला हुने छ।