नक्कली बाबु बनेर नागरिकता दिलाएपछि…

काठमाडौं । आफन्त बनेर नेपाली नागरिकता दिलाएको आरोपमा मोरङमा एक व्यक्ति पक्राउ परेका छन्। मोरङको लेटाङ नगरपालिकामा बसोबास गर्दै आएका पूर्वसैनिक सूर्यहाङ लिम्बू मंगलबार पक्राउ परेका हुन्।

पूर्व ब्रिटिस आर्मी लिम्बूले नक्कली बुवा बनेर धेरै नागरिकलाई नागरिकता दिलाएको आशंका रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।

प्रवक्ता दाहालका अनुसार ६१ वर्षीय लिम्बूले मोरङसँगै अन्य जिल्लाका व्यक्तिहरुलाई समेत नागरिकता दिलाएकोबारे अनुसन्धान भइरहेको छ।

बुवा बनेर अरुलाई नागरिकता दिलाएको देखिएपछि प्रहरीले अनुसन्धान र कारबाहीका लागि पक्राउ गरेको प्रवक्ता दाहालको भनाइ छ। पक्राउ परेका लिम्बूले नक्कली बुवा बनेर विभिन्न व्यक्तिको नागरिकता सनाखत गरेको बताएका उनले अनुसन्धानपछि कतिलाई नागरिकता दिलाएको हो भन्नेबारे प्रष्ट हुने बताए।

ब्रिटिस सेनामा भर्ना गरिदिने लोभ देखाउँदै लिम्बूले अन्य व्यक्तिहरुको नेपाली नागरिकता बनाइदिएको प्रहरी स्रोतले जनाएको छ।