अविरल वर्षासँगै आएको बाढी–पहिरोले कोशी राजमार्ग अवरुद्ध

काठमाडौं । सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ।

लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो। वर्षासँगै आएको बाढी पहिरोले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी –किमाथाङ्का सडक ठप्प भएको हो।

गए राति वर्षासँगै आएको पहिरोले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको उत्तर–दक्षिण कोशी सडक कार्यालयका प्रमुख सविन कोइरालाले जानकारी दिए। उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ।

मकालु गाउँपालिका–५ को मुढे र मकालु–३ मा पहिरो खसेको छ। मकालु गाउँपालिका–५ मा मुढे पहिरो हटाउन थालिएको सडक कार्यालयका प्रमुख कोइरालाले बताए।

रासस