मन्त्री सिंहको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गरिँदै

काठमाडौं । कार दुर्घटनामा निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीवहादुर सिंहको पार्थिव शरीरलाई धनगढीको रंगशालामा राखेर श्रद्धाञ्जली अर्पण भइरहेको छ।

सुदूरपश्चिम सरकारका मन्त्री, प्रदेश सभा सासंद, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सर्मथक, जनप्रतिनिधि, आफन्तजन लगायतले श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

मन्त्री सिंहको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि धनगढीमा श्रद्धाञ्जली सभा सम्पन्नपछि हेलीकप्टरमार्फत् गृह जिल्ला बझाङ लगिने भएको छ। आज सुदूरपश्चिम सरकारले शोक बिदा दिएको छ।

प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति शोकको घोषणा गरेको हो।

मंगलबार दिउँसो २ बजे गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो।

दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको थियो।