बालेन शाहविरुद्ध दायर रिट न्यायाधीश चन्दको इजलासमा

काठमाडौं । सिनेमा हल व्यवसायीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दायर गरेको मुद्दामा सुनुवाइको लागि उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा पेसी परेको छ ।

सिनेमा हल व्यवसायीहरू प्रितम घिमिरेलगायतले हिजो उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । संघीय सरकारले हिन्दी सिनेमा ‘आदिपुरुष’ सेन्सर गरेर चलाउन अनुमति दिएको अवस्थामा स्थानीय सरकारले रोक्न नमिल्ने भन्दै सिनेमा घर सञ्चालकहरूले बताउँदै आएका छन् ।

सिनेमा चलाउन दिने अधिकार संघ सरकारको हो कि स्थानीय सरकारको हो भन्दै उनीहरूले प्रश्न उठाएका छन् । ‘आदिपुरुष’मा जानकी भारतकी छोरी हुन् भन्ने आसयको संवाद राखेको भन्दै बालेनले उक्त संवाद हटाउन तीन दिनको अल्टिमेटम दिएका थिए । तर, सो समयभित्र संवाद नहटाएको भन्दै बालेनले कामपाभित्रका हलमा सोमबारबाट ‘आदिपुरुष’सहित हिन्दी सिनेमा चलाउन रोक लगाएका थिए ।

हिन्दी सिनेमा काठमाडौंमा प्रदर्शन गर्न रोक लगाउने मेयर बालेन शाह र काठमाडौं महानगरलाई विपक्षी बनाउँदै उनीहरुले हिजो मुद्दा दर्ता गराएका हुन् ।