विपद्‌‌बाट घरबारविहिन भएकालाई दिइयो सवा एक अर्ब अनुदान

काठमाडौं । सरकारले मनसुनजन्य विपद्‌बाट घरबारविहिन भएकालाई पछिल्लो तीन वर्षको अवधिमा सवा एक अर्ब भन्दा बढी अनुदान उपलब्ध गराएको छ

गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आर्थिक वर्ष २०७७/०७८ देखि अहिलेसम्म मनसुनको कारणले घर भत्किएर घरवार विहिन भएकालाई एक अर्ब १५ करोड २२ लाख ३१ हजार दुई सय ५० रुपैयाँ अनुदान उपलब्ध गराएको हो ।

उक्त रकम संघीय, प्रदेश र स्थानीय तह गरेर तीन वटै तहको साझेदारीमा उपलब्ध गराइएको राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा सहभागि गृह मन्त्रालयका निमित्त सचिव एवम विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव महादेव पन्थले जानकारी दिए । उनका अनुसार घरवार विहिनलाई घर बनाउनका लागि रकम उपलब्ध गराइएको हो ।

पन्थका अनुसार हिमाली जिल्लामा पाँच लाख, पहाडी जिल्लामा चार लाख र तराईका जिल्लामा तीन लाखका दरले घर बनाउनका लागि सरकारले अनुदान उपलब्ध गराउदैँ आएको छ ।

निमित्त सचिव पन्थका अनुसार सरकारले मनसुनजन्य विपद्बाट मृत्यु भइसकेका व्यक्तिका परिवारलाई प्रति व्यक्ति दुई लाखका दरले राहत उपलब्ध गराइँदै आएको छ भने एक घरकै अरु सदस्यको पनि मृत्यु भएको छ भने प्रति सदस्य थप एक लाखका दरले राहद उपलब्ध गराइदैँ आएको छ ।