यौन दुर्व्यवहार गर्ने आरोपी जोगाउन सञ्चारमन्त्रीका स्वकीय सचिव नै लागेपछि…

काठमाडौं । पद्मोदय पब्लिक उच्च माध्यमिक विद्यालय भरतपुरका प्रशासन प्रमुखलाई आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
प्रशासन प्रमुख मिनेश श्रेष्ठलाई सोही विद्यालयको दश कक्षामा पढ्ने किशोरीले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,‘यो मान्छे होइन,जनाबर हो । जनावर राम्रो हुन्छ योभन्दा ।’ विद्यार्थीले प्रशासन प्रमुखले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछी विद्यालयम हंगामा भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीले यसविषयमा आफू गम्भीर भएको बताउँदै दुवैपक्षका कुरा सुनेर के गर्ने भन्ने निष्कर्षमा पुग्ने बताए । ‘यो निकै गम्भीर विषय हो ।’ उनले भने,‘हामीले मिनेस सरसँग सोध्यौँ । उहाँले आफूले उनलाई सम्झाइबुझाई गरेको तर,दुर्व्यहार गरेको छैन भन्नुभएको छ ।’ अध्यक्ष चौधरीका अनुसार विद्यार्थीले भनेको घटना प्रशासन शाखामा भएको हो ।

आरोपित श्रेष्ठले आफू निर्दोष भएको र दुर्व्यवहार गरे नगरेको सिसि क्यामेराको दृश्यले देखाउने बताएका छन् । विद्यालयका अध्यक्ष चौधरीले आज विद्यार्थी,उनका अभिभावक र आरोपितलाई सँगै राखेर सिसि क्यामेरा फुटेज हेरेर थप निर्णय लिने बताएका छन् ।

पीडित परिवारलाई प्रहरीमा उजुरी गर्न रोकिएको छ । पीडितकी आमालाई अहिले विद्यालयमै राखिएको छ । पीडीतकी आमाले आफूलाई विद्यालयमै छलफल गर्ने भनेर विद्यालयमै राखिएको बताइन् ।

आरोपी जोगाउन संचार मन्त्री रेखा शर्माका स्वकिय सचिव जंग रोका सक्रिय बनेका छन् । उनले पीडितकी आमालाई फकाइफुलाई आरोपीलाई माफी मगाएर उन्मुक्ति दिन खोजेको पीडीतका अन्य आफन्तको भनाई छ ।

यो घटनाका बारेमा प्रहरी जानकार छ । तर,पनि कुनै एक्सन लिन सकेको छैन । दाङ प्रहरी प्रमुख विरबहादुर वलीले घटनाका बारेमा जानकारी भएपनि उजुरी नपरेकाले केही गर्न नसकेको बताउँछन् । प्रहरी स्रोतका अनुसार संचार मन्त्रीका स्वकिय सचिव रोकाले नै यस घटनाम मौन बस्न प्रहरीलाई दबाब दिएका छन् ।

‘रोकाजीले यो केश म मिलाउँछु भनेर प्रहरीलाई दबाब दिनुभएको छ ।’ प्रहरी स्रोतले भन्यो,‘सरकारका प्रवक्ताकै स्वकियले भनेपछि प्रहरी चुप लाग्न बाध्य भएको छ ।’ रोका अहिले विद्यालयमै छन् । उनीसँग सम्पर्क गर्न पटक पटक फोन गरेपनि उनले फोन रिसिभ गरेका छैनन् । विद्यार्थीले यौन दुर्व्यवहारका आरोपी श्रेष्ठलाई कार्वाहीको माग गर्दै विद्यालयमा पीडित किशोरीसहित नारा जुलुस गरिरहेका छन् ।