जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो ।

जीपमा सवार रहेको ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेका छन् ।

जन्ती बोकेको जीप सहिद लखन गाउँपालिका–३ सिलिङमा शुक्रबार बिहान २ बजेतिर प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट खसेको हो । सोही गाउँपालिकाको वडा नम्बर ५ बाट बेहुली लिएर फर्किंदै गर्दा जन्ती सवार जिप दुर्घटनामा परेको हो ।जीप दुर्घटनामा परे पनि बेहुला–बेहुली भने सकुशल रहेका छन् । उनीहरु छुट्टै गाडीमा रहेकोले सकुशल रहेको प्रहरी जानकरी दिएको छ ।

ताजा अपडेट