घोराही सिमेन्टको आधाभन्दा बढी सेयर खरिद आवेदन फर्जी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको सर्वसाधारणका लागि जारी भएको सेयर (आइपिओ) निष्काशन सम्बन्धी प्रक्रियालाई लिएर छानबिन समिति गठन गरिसकेको छ । यस छानविन समितिले घोराहीको सम्पूर्ण पक्ष, रेटिङ कम्पनी र अन्डरराइटरमाथि पनि छानबिन गर्ने भनिएको छ । घोराही सिमेन्टमा १२ जनाले १०/१० लाख कित्ताका दरले सेयर खरिदका लागि आवेदन दिएको तर उनिहरुको बैंक खातामा पर्याप्त रकम नभएको पाइएपछि अहिले यस विषयले सबैको ध्यान खिचेको छ ।

नेपाल धितोपत्र बोर्डले आधाभन्दा बढी सेयर खरिद आवेदन फर्जी भएको पाइएपछि घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासन प्रक्रिया स्थगित गरिसकेको छ ।

अहिले घोराही सिमेन्टको सर्वसाधारण सेयर (आइपिओ) निष्काशन प्रक्रिया माथि छानबिन गर्न बोर्डका सुपरभिजन प्रमुख दिनेश ताम्राकारको संयोजकत्वमा छानबिन समिति गठन भएको छ ।

प्रिमियम मूल्यमा आइपिओ निष्कासन गरेको घोराही सिमेन्टमा १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको थियो। कम्पनीले गत जेठ ३२ गतेबाट सर्वसाधारणमा प्रिमियम मूल्यमा आइपिओ निष्काशन गरेको थियो ।

प्रतिकित्ता ४ सय ३५ रुपैयाँ मूल्य तोकिएको उक्त सेयर न्यूनतम १० कित्ताका लागि आवेदन दिँदा पनि बैंक खातामा रोक्का राख्न मिल्ने ४ हजार ३ सय ५० रुपैयाँ हुनैपर्छ ।

तर, धेरैको आवेदन प्राविधिक कारण देखाएर रद्द गरि घोराही सिमेन्टले आइपिओका लागि आवेदनको म्याद लम्ब्याएको थियो ।

खातामा पर्याप्त पैसा नै नभइ १० कित्ताको एक हजार रुपैयाँ लाग्ने ठानेर आवेदन दिएका कारण आवेदन रद्द भएको आशंका गर्दै सीडीएससीले सूचना जारी गरेको थियो ।

कम्पनीले सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्काशन गरेको थियो । उक्त सेयरका लागि हालसम्म ५ लाख २८ हजार १६६ जनाले २ करोड ४० लाख ५७ हजार १३० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा निकै बढी हो ।

अहिले घोराही सिमेन्ट उद्योगले भने केहि समुहले व्यावसायिक प्रतिष्ठा र ख्याति माथी नकारात्मक असर पुयाउने उद्धेश्यले प्रेषित, भ्रमपूर्ण र गलत सूचना प्रवाह गरेको भन्दै गंभिर अपत्ती जनाएको छ ।

घोराहिले बिहिबार एक विज्ञप्ति जारी गर्दै उक्त आरोप लगाएको हो । घोराहिको उक्त आरोप खण्डन गर्ने ठोस प्रमाण भने देखिदैन ।