सरकारको चेतावनी : अवैध मदिरा बिक्री वितरण गरे कारबाही गर्छौं

काठमाडौं । सरकारले अवैध मदिरा विक्री वितरण गर्नेलाई कारबाही गर्ने भएको छ । आन्तरिक राजस्व विभागले बजारमा अवैध मदिरा छ्यापछ्याप्ती भेटिएपछि त्यस्तो मदिरा बिक्री वितरण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

अन्तःशुल्क ऐन २०५८ तथा नियमावली २०५९ बमोजिम इजाजतपत्र नलिई अवैध मदिरा खरिद बिक्री भइरहेको भन्दै विभागले एक सूचना जारी गर्दै कारबाहीको चेतावनी दिएको हो ।

हाल बजार अनुगमनका क्रममा विभिन्न व्यवसायी, होटल, क्यासिनो, पार्टी प्यालेस, व्याङकेट, रेष्टुरेन्ट समेतले अवैध रूपमा चोरी पैठारी भई आएका विभिन्न ब्राण्डका विदेशी मदिराको भण्डारण, सञ्चय, खरिद, विक्री एवम् प्रयोग गरिरहेको विभागले जनाएको छ ।

विभागले जारी गरेको सूचनामा भनेको, ‘अन्तःशुल्क ऐन, २०५८ तथा नियमावली २०५९ को व्यवस्था विपरित कोहि कसैले मदिराको पैठारी, खरिद, विक्री, प्रयोग लगायतको कारोवार नगर्न नगराउन हुन जानकारी गराइन्छ । अनुगमनका क्रममा कोही कसैले उल्लिखित कानूनी व्यवस्थाको उलंघन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचना मार्फत सूचित गरिन्छ ।’

कानुन विपरित कसैले खरिदबिक्री गरेको पाइए कारबाही गरिने विभागले जनाएको छ ।