२२५ रनको सानदार जितसहित नेपाल अन्तिम चारमा

काठमाडौं । एसिसी यू-१६ इस्ट जोन कप २०२३ मा नेपाल सेमिफाइनलमा पुगेको छ। बुधबार थाइल्यान्डमाथि २२५ रनको सानदार जितसहित नेपाल अन्तिम चारमा पुगेको हो।

नेपालले दिएको २७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमै अलआउट भयो।

थाइल्यान्डका लागि ओपनर दनुफोनले १२ रन र इसन बेनर्जीले १६ रन जोडे।

बलिङमा नेपालका सन्तोष यादवले ५ विकेट लिए। उनले ३.२ ओभरमा १ मेडन राख्दा ८ रन मात्र खर्चिए।

अशोक धामीले ३ विकेट लिए भने अभिषेक तिवारीले २ विकेट हात पारे। अशोकले ३ ओभरमा २ मेडन राख्दा ४ रन मात्र दिए। अभिषेकले ४ ओभरमा १ मेडन राखे भने २१ रन खर्चिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ८ विकेटको क्षतिमा २६९ रन जोड्यो।

नेपालका लागि निरजकुमार यादवले ७४ रन जोडे। यस्तै नरेन भट्टले ४३ बलमा ५५ रन, सन्तोष यादवले ३६ बलमा ४२ रन र ओपनर सूर्यांशु कोइरालाले ५५ बलमा ४० रन बनाए।

नेपालले पहिलो खेल जित निकाल्दै सेमिफाइनलमा यात्रा तय गर्न सफल भयो।

यो समूहको थाइल्यान्ड लगातार दुई खेलमा पराजित भएपछि नेपाल अन्तिम खेलअघि सेमिफाइनल पुगेको हो।

तीन टिम रहेको समूहमा अब नेपालले आयोजक मलेसियासँग खेल्नेछ। मेलसिया पनि सेमिफाइनल पुगेको अवस्थामा समूहको अन्तिमबाट समूह विजेताको टुंगो लाग्नेछ। नेपाल र मलेसियाबीच पर्सि प्रतिस्पर्धा हुनेछ।