लुम्बिनी प्रदेशसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी र अवरोधका कारण लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ।

आइतबार दिउँसो आह्वान गरिएको संसदको दोस्रो अधिवेशनको १३औं बैठक सुरू भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू नाराबाजीमा उत्रिएपछि स्थगित भएको हो।

सोमबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित भएको हो।

प्रदेश सभाका सभामुख तुलाराम घर्तिले बैठक सुरू गरेपछि अर्थमन्त्री धनबहादुर मास्कीले सदनमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गरेका थिए।

मन्त्री मास्कीले उक्त प्रस्ताव पेश गर्दै गर्दा एमाले सांसदहरू नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्न पुगेका थिए।

एमाले सांसदहरूले प्रदेश सरकारले एकलौटी रूपमा बजेट ल्याएकोले उक्त बजेट संशोधन गर्न माग गरेको छ।

यसअघि असार १३ गते आह्वान गरिएको बैठक पनि बजेटको विषयमा एमालेले आपत्ति जनाउँदै विरोध गरेपछि अघि बढ्न सकेको थिएन। त्यसपछि अवरूद्ध संसद बैठक आइतबारको लागि आह्वान गरिएको थियो।

एमालेले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ। गठबन्धन दलहरूको बलमा सरकारले संसदभित्र जबरजस्ती गरिरहेको र एकलौटी रूपमा विभिन्न निर्देशनालयहरू खारेज गर्ने र बजेटमा मनपरी गर्ने गरेको भन्दै एमालेले त्यसको विरोध गरिरहेको छ।

एमाले सांसदहरूले प्रदेश सरकारले निर्देशनालय खारेज गर्ने निर्णय फिर्ता लिन माग गर्दै बैठक अवरूद्ध गरेका थिए।

गत असार १ गते सरकारले प्रदेश सभामा बजेट पेस गरेपनि प्रतिपक्ष दलको विरोधका कारण बजेटमाथि छलफल प्रारम्भ नै हुन सकेको छैन।