असुरक्षा बढेको भन्दै ललितपुर जिल्ला अदालतका कर्मचारी सर्वोच्चमा

काठमाडौँ । ललितपुर जिल्ला अदालतका कर्मचारी कार्यालय छाडेर सर्वोच्च अदालत पुगेका छन् ।

कानुन व्यवसायीबाट आफूहरूलाई खतरा भएको, धम्की आएको र कार्यस्थलमा बसेर कामकाज गर्न सक्ने अवस्था नरहेको भन्दै कर्मचारीहरू सर्वोच्च अदालतमा पुगेका हुन् ।

असार १८ गते नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिकै आयोजनामा ललितपुर जिल्ला अदालत बाहिर आमसभा गरी कर्मचारीको मानमर्दन हुने गरी अभिव्यक्ति दिइएको र बारले आफ्नो क्षेत्राधिकार र सीमा मिचेर कुनै अमुक कर्मचारीलाई यहाँ सरुवा गर भन्नु कानुन विपरीतको कार्य भएको भन्दै आपत्ति जनाएको छ ।

ललितपुर जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डे लगायतको समूह यति बेला सर्वोच्च अदालतमा पुगेको छ । कर्मचारीहरू कामकाज छाडेर सर्वोच्च अदालत पुगेपछि सर्वोच्च अदालत प्रशासनले कर्मचारीसँग छलफल गरी काममा फर्किन आग्रह गरेको छ ।

यद्यपि कर्मचारीहरूले भने आफूहरूको जिउधनको सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा नफर्कने चेतावनी दिएका छन् । आफ्नो कर्मचारीको गल्ती भए छानबिन गरी कारबाही गर्नसमेत आफूहरूले सर्वोच्च अदालत प्रशासनसँग माग गरेको र जसको गल्ती हो उसलाई कारबाही हुनुपर्ने आफूहरूको माग रहेको बताएका छन् ।