प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् त आजका सम्भावित कार्यसूची ?

काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो ३ बजे बस्दैछ ।

संसद् सचिवालयका अनुसार, आजको प्रतिनिधिसभा बैठकमा तीन विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । पहिलो नम्बरमा नेपाल विश्वविद्यालय विधेयक २०८० टेबुल गर्ने कार्यसूची छ । यो राष्ट्रियसभाबाट उत्पत्ति भएर प्रतिनिधिसभामा आएको हो ।

आजकै बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रियसभामा उत्पत्ति भएको ‘मलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्ने अर्को सम्भावित कार्यसूची पनि छ ।

संसद् सचिवालयका अनुसार विधेयकमाथि प्राप्त संशोधनलाई आज नै निर्णयार्थ प्रस्तुत गरिनेछ । कानून मन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा गर्ने सम्भावित कार्यसूची छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री बनेको आपत्तिजनक अभिव्यक्ति दिएकाले पदबाट राजीनामा दिनुपर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आएको छ । तर प्रचण्डले आफ्नो अभिव्यक्ति बंग्याइएको भन्दै बचाउ गर्दै आइरहेका छन् ।