सामुदायिक विद्यालयको नतिजा सुधार्न भन्दै वडाध्यक्षले निःशुल्क ट्युसन सेवा दिन थालेपछि…

काठमाडौं । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गका वडाध्यक्ष कृष्णप्रसाद पौडेलको बिहानी समय विद्यार्थीहरूलाई शिक्षा दिनमै बित्छ ।

बिहान साढे ६ बजेबाट ९ बजेसम्म घरमै पढ्न आएका एसईईको ग्रेड वृद्धि परीक्षा दिने तयारी गरेका विद्यार्थीहरूलाई अध्यापन गराउँछन् ।

उनले धातिवाङ्ग माध्यमिक विद्यालयमा अध्ययन गरी ग्रेड वृद्धि गर्ने ८ जना विद्यार्थीहरूलाई नियमित अध्यापन गराउँदै आएका छन् ।

निःशुल्क रूपमा अध्यापन गराउने वडाध्यक्ष पौडेल भन्छन् ‘एसईईमा सोचेअनुसार नतिजा नआएपनि ग्रेड वृद्धिमार्फत थप ग्रेड वृद्धि गर्ने अवसर विद्यार्थीले प्राप्त गरेका कारण घरमै ट्युसनको रूपमा अध्यापन गराउन थालेको छु ।’

वडाध्यक्ष पौडेलले अनिवार्य गणित र ऐच्छिक गणितको ट्युसन पढाउँछन् ।

‘समाजसेवा गर्नका लागि वडाध्यक्षमा जनताले विजयी बनाएका हुन्, विद्यार्थीहरूलाई आफूसँग भएको ज्ञान सिकाई आदानप्रदान गरेपछि विद्यार्थीहरूलाई हौसला बढाउन ट्युसन पढाउन थालेको छु । गत वर्ष पनि विद्यार्थीहरूलाई ट्युसन पढाएको थिएँ ।’ वडाध्यक्ष पौडेलले भने, ‘बिहानको करिब ३ घण्टाको समय विद्यार्थीहरूसँग बिताउँछु ।’

२९ वर्षीय वडाध्यक्ष दिनभर भने वडाकै काममा व्यस्त हुन्छन् ।