दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना गरिनेछ : कृषिमन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना गरिने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले यी दुई संस्था विघटन गरे पनि यी क्षेत्रको कामलाई सरकारले निरन्तरता दिने स्पष्ट पारे ।

उनले भने, “यी दुई संस्था विघटन गर्ने भनिए पनि सरकारले यी क्षेत्रका काम नगर्ने भन्ने होइन । दुवैको कार्यलाई अझै प्रभावकारी र उपलब्धिमूलक बनाउन पुनःसंरचना गरिनेछ ।”

उनले विघटनको प्रस्ताव मन्त्रालयको नभएर डा डिल्लीराज खनालको नेतृत्वको खर्च पुनरावलोकन आयोगको सिफारिसमा गरिएको बताए । उनले देशभर महामारीका रुपमा फैलिएको ‘लम्पी स्कीन’को सङ्क्रमण र मृत्युदर घट्ने क्रममा रहेको जानकारी दिए ।

उनले हालसम्म सात लाख ८२ हजार एक सय ८४ वटा पशुमा लम्पी स्कीन रोगको सङ्क्रमण भएको र २८ हजारभन्दा बढी पशुको मृत्यु भएको बताए । सरकारको तीनै तहमा समन्वय गरी यस रोगको रोकथाम र नियन्त्रणका लागि प्रयास गरिरहेको उनको भनाइ छ ।

मन्त्री भुसालले भने, “लम्पी स्कीन रोगका सन्दर्भमा सरकारले केही पनि गरेन भन्ने होइन । यसको उपचार तथा रोकथामका लागि मन्त्रालयबाट सम्भव भएसम्मका सम्पूर्ण प्रयास गरिएको छ ।”

उनले उक्त सङ्क्रमणविरुद्धको खोप जोर्डन, ताञ्जिनिया र टर्कीबाट १२ लाख डोज भ्याक्सीन आयात गरेर दुई लाख ५० हजार सात सय ६६ पशुलाई खोप लगाइएको जानकारी दिए ।