एसीसी इमर्जिङ कप : सोमपालको अर्धशतकमा पाकिस्तानलाई नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य दिएको छ ।

कोलोम्बो क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रनको योगफल तयार पारेको हो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रनको योगदान दिए । १०१ बलको सामना गरेका सोमपालले ९ चौका र २ छक्का प्रहार गरे । यस्तै, प्रतिश जिसीले २६ रन जोडे । २४ बलको सामना गरेका प्रतिशले २ छक्का र १ चौका प्रहार गरे ।

यसैगरी, कुशल मल्ल र अर्जुन साउदले १७-१७ रन जोडे । यस्तै, गुल्सन झापले १३, ओपनर आसिफ शेख १२ रन, कप्तान रोहित पौडेल ४ तथा पवन सराफ र कुशल भुर्तेलले १-१ रनको योगदान दिए । ललित नारायण राजवंशीले १ रन जोड्दा भीम सार्की भने शून्य रनमै आउट भएका थिए ।

बलिङतर्फ पाकिस्तानका लागि साहनावाज दाहानीले ५, मुहम्मद वासिमले ४ र मुबासिर खानले १ विकेट लिए । पाकिस्तानले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ ।