बाँच्दासम्म अरुलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि शान्त रोजिन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसंगीनी सीता दाहालको निधनको शोक मनाउन आज प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । सभामा विभिन्न पार्टीका शिर्ष नेता तथा कुटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थिति छन् ।

कार्यक्रममा सीता दाहालको जीवनमा आधारित भिडिओ देखाइयो । उक्त भिडिओ हेरिरहँदा प्रधानमन्त्री तथा छोरीहरूको आँखामा आँशु देखिएको थियो ।

श्रद्धाञ्जली कार्यक्रमलाई प्रधानमन्त्री दाहालले मात्र सम्बोधन गरे । उनको लिखित सम्बोधनको संक्षेप यस्तो थियोः

मेरो जीवनसाथी एवम् सहयोद्धा कमरेड सीता दाहालको निधन भएकामा सबैको साथ र समवेदनाले यो पिडाबाट निस्किन हामीलाई मद्दत मिलेको छ । साथै, देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस गरेका छौं ।

पछिल्ला वर्षहरुमा हामीले एक छोरी र छोरासहित दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यू व्यहोर्‍यौं । शरीरले साथ दिएसम्म यो पिडामा उनी पनि दृढतापूर्वक उभिइन् । बिरामी भएपछि राज्यबाट सुविधान नलिइकन उपलब्ध सबैखाले पद्दतिबाट उपचारको प्रयास गरिरह्यौं । थला नै परेपछि अन्तिम अवस्था दुखदायी र कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो । आईसीयू वा भेन्टीलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता थियो । तर, बाँच्दासम्म अरुलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि शान्त रोजिन् । साढे सात बजे हामीले हस्पिटल लगेको थियौं, साढे आठमा हामी सबैबाट बिदा भइन् ।

उनको मृत्युर्मा प्रकट भएको जनअभिव्यक्ति र जनउभारले म र मेरो परिवारलाई देश र जनताप्रति अझै ठूलो जिम्मेवारीवोध भएको छ । मैले बाँकी जिवनमा झनै सक्रिय र सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा मिलेको छ। सबैको सहानुभूतिले हाम्रो पीडामा ठूलो मल्हम लगाउने काम गरेको महसुस भएको छ ।