छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० स्थित मोडमा ना.६ ख ८८९० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१० बस्ने ६३ वर्षीय लाल बहादुर घिसिङ्को सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई हेटौंडा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ चुरियामाईस्थित सडकमा प्र.२-०३-०१२ प ८८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ बस्ने ३५ वर्षीय शंकर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा सरकारी अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै नवलपरासी (पूर्व) को कावासोती नगरपालिका-१ बालुवाडाँडास्थित सडकमा लु.४ त ३६३४ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर सोमबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २३ वर्षीय किरण हितङ मगरको घटनास्थलमा नै मृत्यु भएको छ ।

यसै गरी पर्वतको पैंयु गाउँपालिका-४ सानोस्वामीस्थित सडकमा ग.१ ज ७९७३ नम्बरको जिपबाट खसेर सोही गाउँपालिका-६ काहुँ बस्ने ३० वर्षीया बसन्ती थापाको सोमबार दिउँसो मृत्यु भएको छ । जिपबाट खसेर गम्भीर घाइते भएकी उनको स्वास्थ्य चौकी हुवास हुँदै स्वास्थ्य चौकी वालिङ स्याङ्जामा थप उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जन्नास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००९ प ७३८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २१ वर्षीय राजु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढी हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको निसर्ग अस्पतामा उपचार भइरहेको छ ।

बैतडीको दशरथचन्द नगरपालिका-६ गोठलापानी सेरास्थित सडकमा सु.प.प्र.०१००२ त ६३८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा चालक कैलाली फुलबारी बस्ने २८ वर्षीय सुलेन चौधरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।