फिफा महिला विश्वकप : आज यी चार खेल हुँदै

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज २ वटा समूहबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्ने भएको छ ।

सोमबारका खेलहरुपछि समुह ‘बि’ र ‘सि’ बाट नकआउट चरणमा पुग्ने टोलीहरुको टुंगो लाग्नेछ ।

सोमबार समुह ‘बि’ का खेलहरुमा क्यानाडा र अष्ट्रेलिया तथा आयरल्याण्ड र नाइजेरिया भिड्नेछन् । यो समुहमा दुई खेलबाट नाइजेरिया र क्यानाडको ४–४ अंक छ भने अष्ट्रेलियाको ३ अंक छ । सोमबार नै हुने समुह ‘सि’ का खेलहरुमा जापान र स्पेन तथा कोष्टा रिका र जाम्बिया भिड्नेछन् । यो समुहमा लगातार दुई जितसहित जापान र स्पेन नकआउट चरणमा पुगिसकेका छन् ।

प्रतियोगितामा समुह ‘ए’ बाट स्विट्जरल्याण्ड र नर्वे नकआउट चरणमा पुगेका छन् । आइतबारको खेलहरुमा नर्वेले फिलिपिन्सलाई ६–० ले हराउँदा स्विट्जरल्याण्डले आयोजक न्युजिल्याण्डसँग गोलरहित बराबरीमा चित्त बुझायो ।

यो समुहमा तिन खेलबाट ५ अंक जोडेको स्विट्जरल्याण्ड समुह विजेता बन्दा ४ अंकसहित नर्वे दोस्रो स्थानमा आयो । समान ४ अंक जोडेको न्युजिल्याण्ड गोल अन्तरको आधारमा समुह चरणबाटै बाहिरियो ।

आइतबार भएको समुह ‘एच’ का खेलहरुमा कोलम्बियाले जर्मनीलाई २–१ ले हराउँदा मोरक्कोले दक्षिण कोरियामाथि १–० को जित निकाल्यो ।