मिटरब्याजले लियो पीडित विनित सुनारको ज्यान

काठमाडौं । मोरङका मिटरब्याज पीडित भनिएका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका विनित सोनारको मृत्यु भएको हो ।

यही साउन ७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल सकेर बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि कार्यालय परिसरमै विष सेवन गरेका कटहरी गाउँपालिका(३ का अन्दाजी ३२ वर्षीय विनित सोनारको बुधबार बिहान मृत्यु भएको हो ।

डा। नितेष तिवारी विरुद्ध सोनारकी पत्नी रीताले मिटरब्याजबाट पीडित भएको उजुरी दिएकी थिइन् । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुवै पक्षलाई साउन ७ गते छलफलका लागि बोलाएको थियो । जिल्ला प्रशासन कार्यालयमा छलफल पछि बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि सुनारले विष सेवन गरेका थिए ।

विष सेवनबाट गम्भीर बिरामी भएका उनलाई कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो । नोबेलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी छेदीलाल कामतीले जानकारी दिए ।

नितेष तिवारी विरुद्ध मिटरब्याजको उजुरी दिएका सुनारलाई प्रहरीले दुई छुट्टाछुट्टै चेक बाउन्स मुद्दामा पक्राउ पूर्जी जारी गरेको थियो । साउन ७ गते मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले दुवै पक्षलाई राखेर छलफल गराएका थिए । छलफलमा सहमति भने भएन ।

सहायक प्रमुख जिल्ला अधिकारी साहका अनुसार दुई पक्षबीच लेनदेनको कागजात छैन । पीडितले आफूले सात लाख रुपैयाँ ऋण लिएको दाबी गरेका छन् । डाक्टर तिवारीले भने १५ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।

लेनदेनको कागज नदेखिए पनि सोनारले डाक्टर तिवारीलाई चेक दिएका थिए । ऋण लिँदा ज्ञारेन्टीका लागि दिएको ब्ल्याङ्क चेकमा डाक्टर तिवारीले मनलाग्दी रकम भरेर आफूलाई फसाएको सोनारले दाबी गर्दै आएका थिए ।

पहिलो छलफल निष्कर्षमा नपुगेपछि सहायक प्रमुख जिल्ला अधिकारी साहले पाँच दिन भित्र मिलेर नआएको अवस्थामा उजुरीलाई प्रक्रियामा लैजाने बताएका थिए ।

सोनारले विराटनगर महानगरपालिका(७ स्थित आर के चिल्ड्रेन अस्पताल अगाडि चिया(नास्ताको पसल सञ्चालन गर्दै आएका थिए । पसल चलाउने क्रममा डा। तिवारीसँग ४ वर्षअघि ७ लाख ऋण लिएको उनको दाबी छ । उनले १५ लाख तिरेको दाबी गर्दै आएका थिए । अझै १२ लाख तिर्न बाँकी देखाइएको भन्दै मिटरब्याजको उजुरी दिएका थिए ।

छलफलका लागि जिल्ला प्रशासन कार्यालय पुगेर फर्कने क्रममा सोनारलाई चेक बाउन्स मुद्दामा पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङको टोली पुगेको थियो ।

सोनार विरुद्ध विराटनगरका प्रदीप भुजेलले २ लाख रुपैयाँ र विनोद ढकालले ६ लाख रकम नपाएको भन्दै छुट्टाछुट्टै दुईवटा जाहेरी दिएका थिए । ती दुई वटै जाहेरीका आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । प्रहरीले पक्राउ गरेपछि उनले ‘ट्रिक्कल’ नामक विषादी सेवन गरेका थिए ।