अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिको विरोध जनाउँदै प्रदर्शन गर्ने २८ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा प्रदर्शन गर्ने २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अधिवक्ता भगवती पाण्डे ‘शितल’ ले तामाङ, मगर समुदायप्रति लक्षित गरी विवाहबारे दिएको अभिव्यक्तिको विरोध जनाउँदै परिसर अगाडि प्रदर्शन भएको हो।

नेपाल मगर संघ र नेपाल तामाङ संघले परिसर अगाडि प्रदर्शन गरेको हो। प्रदर्शन गर्ने क्रममा उनीहरूले ढुंगामुढा समेत गरेको परिसरका डिएसपी अनिल अधिकारीले जानकारी दिए।

परिसर प्रवेश गर्नेद्वारमा अवरोध पुर्‍याएको र त्यहाँबाट हटाउन खोज्दा ढुंगामुढा समेत गरेपछि २८ जनालाई नियन्त्रणमा लिएको डिएसपी अधिकारीले बताए।

जसमा २२ जना पुरूष र ६ जना महिला छन्।

उनीहरूले अधिवक्ता पाण्डेलाई पक्राउ गर्नुपर्ने बताएका थिए। परिसरले बुधबार बिहानै पाण्डेलाई पक्राउ गरी बयान लिइरहेको पनि डिएसपी अधिकारीले बताए।

‘पाण्डेलाई हामीले बिहानै पक्राउ गरिसकेका थियौं। तर उहाँहरूले देखाउनु पर्‍यो भनेर भनिरहनुभयो,’ डिएसपी अधिकारीले भने, ‘बयान चलिरहेको छ भन्दा पनि देखाउनुपर्‍यो भन्नुभयो।’

त्यसपछि प्रहरीले दुई वटा संघका अध्यक्षलाई लगेर पक्राउ परेकी अधिवक्ता पाण्डेलाई देखाएको थियो। तर पनि प्रदर्शन गरी अवरोध पुर्‍याएको प्रहरीले जनाएको छ।