माओवादीको विधान संशोधन भएसँगै केन्द्रीय सदस्य संख्या ४०९ पुग्यो

काठमाडौँ । नेकपा (माओवादीले केन्द्र) ले केन्द्रीय समिति सदस्य थप गर्न विधान संशोधन प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै अब माओवादी केन्द्रीय सदस्य संख्या ४०९ हुने भएको छ । वैकल्पिक केन्द्रीय सदस्य हाल १९९ छन् ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यमा महिला प्रतिनिधित्व र छुटेका नेता समेट्न विधान संशोधन गर्ने निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले संगठन सुदृढीकरणका लागि तीनमहिने अभियान सञ्चालन गरेपछि विधान सम्मेलन गर्ने सांगठनिक प्रस्ताव पेस गरेका छन् । ‘पार्टी सृदृढीकरणका लागि तीनमहिने अभियान चलाइनेछ । त्यसपछि विधान सम्मेलन गरिनेछ‚’ दाहालको भनाइ थियो । उनले विधान सम्मेलनपछि फेरि तीनमहिने अभियान चलाउने विशेष महाधिवेशनको तयारी गर्ने सांगठनिक दस्तावेजमा उल्लेख गरेका छन् । दस्तावेजमा पार्टीका संगठित सदस्य सात लाख भएको दाबी गरिएको छ ।

अध्यक्ष दाहालले बैठकको उद्घाटनमा पार्टी कमजोर भएको स्वीकार गर्दै अभियान चलाउने निर्णय भएको र त्यसमा नेता तथा कार्यकर्ताले सेल कमिटीसम्म गएर काम गर्नुपर्ने बताए ।