महँगिको मारमा नेपालीहरु, मूल्यवृद्धि ८ प्रतिशत नजिक

काठमाडौं । देशको अर्थतन्त्रमा शिथिलता आएको वेला बजारको मूल्यवृद्धि भने उच्च रहेको तथ्याङ्कले देखाएको छ।

नेपाल राष्ट्र ब्यांकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा उपभोक्ता औसत मूल्यवृद्धि ७.७४ प्रतिशत छ। यो अघिल्लो आर्थिक वर्षमा ६.३२ प्रतिशत थियो।

गत आर्थिक वर्षमा केन्द्रीय ब्यांकको मौद्रिक नीतिले औसत उपभोक्ता मूल्यवृद्धि सात प्रतिशतमा सीमित राख्ने घोषणा गरेको थियो। तर, लक्ष्य अनुसार मूल्यवृद्धि सीमामा राख्न मौद्रिक नीति असफल भयो।

मूल्यवृद्धि उच्च हुँदा आम सर्वसाधारणको खर्च बढेर दैनिकी खलबलिन्छ। खासगरी, दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा न्यून आय हुने समूह मर्कामा पर्छ।

केन्द्रीय ब्यांकका अनुसार मरमसलाको मूल्य १२.५ प्रतिशत र खाद्यान्नको मूल्य १०.७ प्रतिशतले बढेको छ। पछिल्लो समयमा जिराको बजार मूल्य दोब्बरसम्मले बढेको छ।

भारतले चामल निर्यातमा प्रतिबन्धको घोषणासँगै बजारमा चामलको मूल्य पनि थप बढिसकेको छ। त्यसैगरी, दूध र अन्डाको मूल्य ९.२३ प्रतिशतले बढेको छ। होटल र रेस्टुराँको खाना र सेवाको मूल्य पनि १४।४२ प्रतिशतले बढेको छ।

केन्द्रीय ब्यांकले देशका विभिन्न बजार केन्द्रमा सङ्कलन गरिएको तथ्याङ्कको आधारमा औसत मूल्यवृद्धि दर निकाल्छ। राष्ट्र ब्यांकका अनुसार यातायातको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुको ८.६५  प्रतिशत मूल्यवृद्धि भएको छ।

औसत उपभोक्ता मूल्यवृद्धि काठमाडौं उपत्यकामा ७.५५ प्रतिशत, तराईमा ८ प्रतिशत, पहाडमा ७.५६ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत छ।

आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क ९.९० प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो सूचकाङ्क ६.६५ प्रतिशतले वृद्धि भएको थियो।