गायक जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले प्रगतिशील गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय लिएको हो ।

पर्यटन मन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

निधनको २ वर्षपछि सरकारले उपाधि दिएको हो । गायक टुहुरेको ७८ वर्षको उमेरमा २०७८ भदौ १० गते बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । २० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् । उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भई।।’ बोलको गीत सर्वाधिक लोकप्रिय छ ।

टुहुरेले १ सय ५० भन्दा बढी जनवादी गीत रेकर्ड गराएका छन् । सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए ।