साउनमा १ खर्ब २९ अर्बको वस्तु आयात, निर्यात घट्यो

काठमाडौं । साउन महिनामा आयात र निर्यात व्यापार घटेको छ।

भन्सार विभागको तथ्यांकअनुसार साउनमा एक खर्ब २९ अर्ब २३ करोडको अन्तर्राष्ट्रिय व्यापार भएको छ। यो गत वर्षको साउनको तुलनामा १.५ प्रतिशतले कम हो।

गत वर्ष यो समयमा एक खर्ब ३१ अर्ब २८ करोडको आयात व्यापार भएको थियो। तर, आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत वर्ष २२ प्रतिशतले आयात व्यापार घटेको थियो।

आयात व्यापार डेढ प्रतिशतले घट्दा निर्यात व्यापार साढे ८ प्रतिशतले घटेको छ।

भन्सार विभागको तथ्यांकअनुसार साउनमा १३ अर्ब ५२ करोडको मात्रै मालवस्तु विदेशी बजारमा गएको छ। गत वर्षको साउनमा १४ अर्ब ८० करोडको मालवस्तु गएको थियो।

आयात र निर्यात दुबै घट्दा समग्र अन्तर्राष्ट्रिय व्यापार २.२८ प्रतिशतले घटेको छ। साउनमा एक खर्ब ४२ अर्बको अन्तर्राष्ट्रिय व्यापार भएको छ।

गत वर्षको साउनमा एक खर्ब ४६ अर्बको अन्तर्राष्ट्रिय व्यापार भएको थियो।