आज जनैपूर्णिमा र यसको महत्व

काठमाडौं । आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइएको छ।

हिन्दु धर्मावलम्बीले प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउँछन्।

यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि बिहानै ब्राह्मण पुरोहित र मन्दिरका पुजारीको हातबाट जनै फेर्ने र रक्षाबन्धन बाँध्ने प्रचलन छ।

तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भनिन्छ।

यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ।

आजै मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ।

खेतीपातीका क्रमममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ।

जनैपूर्णिमाको महत्व
रक्षाबन्धन भनेको हातमा रक्षा सूत्र बाँध्ने काम हो । हाम्रो शरीरको रक्षा गर्छ भन्ने मान्यताका साथ रक्षाबन्धन गरिन्छ । यो दिन प्रायः सबैले हातमा डोरो बाँध्छन् । तागाधारीहरूले नयाँ जनै फेर्छन् ।

जनैपूर्णिमा भनेको जनै लगाइसकेपछि अध्ययन आरम्भ गर्ने साइत हो । भारतका कतिपय ठाउँमा नाग पञ्चमीको दिनबाट पनि अध्ययन आरम्भ हुन्छ । तर, नेपालमा परापूर्वकालदेखि नै जनैपूर्णिमाको दिन जनै फेर्ने र वेदको अध्ययन आरम्भ गर्ने अभ्यास छ । अभिमन्त्रण गरेको जनै फेरिसकेपछि गुरुकुलमा जाने गरिन्छ । ज्ञान उपार्जनका लागि जनैको महत्व ठूलो छ । तागाधारीले जनै नलगाई गरेका कर्म निष्फल हुन्छ भनेर शास्त्रमा पनि लेखिएको छ । त्यसैले उनीहरू जनै नलगाई कुनै काम गर्दैनन् ।

मनुष्य जन्मँदा तीनवटा ऋण (देउता, पितृ र ऋषिको ऋण) बोकेर आएको हुन्छ । देवताको ऋण तिर्न वेलाबखत यज्ञ, श्राद्ध गरेर पितृको ऋण तिर्ने गरिन्छ । ऋषिहरूको ऋण तिर्न वेदको अध्ययन गर्ने र यसरी पर्वहरूमा तर्पण दिने गरिन्छ । त्यसैले यस पर्वलाई ऋषि तर्पणी पनि भनिन्छ ।

क्वाँटीको महत्व
यस दिन धेरैको घरमा क्वाँटी पाक्छ । विभिन्न थरीका गेडागुडी मिलाएर खाइन्छ । त्यसैले क्वाँटी खाने पूर्णिमा पनि भनिन्छ । मानिसलाई वर्षाको समय खेतीपातीको काम गर्दा चिसो लाग्ने भएकाले सर्दी निकाल्न र शरीरमा पोषक तत्व पुर्‍याउन क्वाँटी खाने गरिन्छ । यो कृषि र प्रकृतिसँग सम्बन्धित छ ।

गाईजात्रा
गाईजात्रा हाम्रो सामाजिक र सांस्कृतिक परम्परा हो । यो निकै पुरानो पर्व हो । हरेक साल भाद्र कृष्ण प्रतिपदाको दिन दिवंगत भएका पितृ र बन्धुहरूको सम्झनामा गाईको स्वरूप बनाएर वा विभिन्न झाँकी निकालेर दुःख बिर्सने गरिन्छ । जुन घरमा पितृ वा बन्धुको निधन भएको छ, त्यही घरबाट जात्रा निकालिन्छ । कसैेले गाई नै निकाल्छन् । कसैले झाँकी र विभिन्न किसिमका स्वरूप धारण गरेर नगर परिक्रमा गर्छन् । यसपटक जनैपूर्णिमा र प्रतिपदा एकै दिन परेको छ ।