सिटिजन्स लाइफको आइपीओ बिक्री खुला

काठमाडौं । सिटिजन लाइफ इन्सुरेन्सको आइपीओ बिक्री खुला भएको छ । कम्पनीले शुक्रबार (भदौ १५ गते) देखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गरेको हो। इन्सुरेन्सले प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गरेको हो ।

यसमा १० प्रतिशत (११ लाख २५ हजार कित्ता) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत ९५ लाख ६२ हजार ५००० कित्ता सेयर कर्मचारी र ५ प्रतिशत (५ लाख ६२ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारणले बाँकी रहेको ९० लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्सुरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।