देशमा भएजत्ति सबै नराम्रो कामको अपजस कांग्रेसले लिनुपर्ने अवस्था छ : श्यामकुमार घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले समाजमा विकसित नेगेटिभ एटिच्युडका कारण दोष जति सबै कांग्रेसले झेल्नुपर्ने अवस्था रहेको बताएका छन् । उनले कांग्रेसले इतिहासमा फेरि एक पटक गम्भीर भएर देशलाई सही दिशामा अघि बढाउन सक्नुपर्ने बताए ।

आइतबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता घिमिरेले समाजलाई सही दिशातर्फ डोर्‍याउने काम पनि नेपाली कांग्रेसकै काँधमा रहेको बताए ।

‘अहिले जताततै आम मान्छे निराश छ, कतै कोही उत्साहित छैन । किन यस्तो भइरहेको छ ? यसबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ,’ उनले अघि भने, ‘नेगेटिभ एटिच्युड जुन चरम विन्दुमा पुगेको छ, यसलाई हामीले कसरी सकारात्मक बनाएर लैजाने ? कसरी आशा जगाउने भनेर गम्भीर हुनुपर्ने बेला आएको छ ।’

उनले देशमा भएजत्ति सबै नराम्रो कामको अपजस कांग्रेसले लिनुपर्ने अवस्था रहेको बताए । ‘जता पनि, जसले पनि कांग्रेसलाई गाली नै गरिरहेको देखिन्छ । हुन पनि आम मान्छेको जीवन समस्यै समस्यामा छ । समाज बेरोजगारी छ, पारिवारिक विचलन छ । देशमा राजस्व संकलन बढेको छैन । काम गर्ने जनशक्ति विदेश पलायन भइरहेको छ,’ उनले भने, ‘देशमा जे भइरहेको छ, त्यसको अपजस जत्ति सबै कांग्रेसलाई आइपरेको छ । मानौं कि कांग्रेसबाहेक अरु सबैले ठीकठाक गरिरहेका छन् ।’

उनले आगामी महासमिति बैठकमा सबै समस्याहरूको समाधानको बाटो खोजी गर्नुपर्ने बताए ।