काठमाडौंका यी स्थानमा आज सवारी आवागमन प्रभावित हुने

काठमाडौं । आज इन्द्रजात्रा पर्व मनाइँदै छ।

काठमाडौंको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि प्रारम्भ हुने नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न काठमाडौं महानगरले आग्रह गरेको छ।

आज बसन्तपुर, मरू, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा हुनेहुँदा ती क्षेत्रमा सवारी आवागमन प्रभावित हुने बताइएको छ।

‘काठमाडौंको बसन्तपुर केन्द्रित, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वको राष्ट्रिय पर्वका क्रियाकलाप सुरू भइसकेका छन्, यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलापहरू हिँडेर सञ्चालन गरिन्छन् । यसर्थ निम्न क्रियाकलाप हुने दिनमा तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन, त्यस मार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुहरूले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पुर्‍याउनुहुन अनुरोध गर्दछौं,’ महानगरले सूचना जारी गर्दै भनेको छ।

शुक्रबार (असोज १२ गते) बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुरसम्म रथयात्रा हुने छ।