महँगी बढेको बढ्यै छ, सरकारप्रतिको भरोसा र लोकप्रियतामात्रै नबढेको हो : प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको बताएका छन् । उनले देश आर्थिक मन्दीमा थलिएका बेला बजारमा उपभोग्य वस्तुको मुल्य भने ४५ प्रतिशतसम्म वृद्धि भएको बताए । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले मन्दीका कारण बजारका ३५ प्रतिशत सटर बन्द भएको तथ्यांक सार्वजनिक भएको बताए ।

‘देश आर्थिक मन्दीले थलिएको छ । बजारमा ३५ प्रतिशत सटर बन्द भएको तथ्यांक सार्वजनिक भएको छ । यति नै बेला उपभोक्तालाई मार पर्ने गरी महँगी आकासिएको छ । भान्सामा दैनिक उपभोग हुने चालम, दाल, चिनी र तरकारीको मूल्य बढेको छ । सरकारले मूल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने भनेको थियो, तर आर्थिक वर्षको तेस्रो महिनामै १४ प्रतिशत मूल्यवृद्धि भइसकेको छ । कतिपय वस्तुमा ४५ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ,’ सांसद पौडेलले भने, ‘यतिबेला सबैचिजको मूल्य बढेको छ, सरकारप्रतिको भरोसा र लोकप्रियतामात्रै नबढेको हो ।’

उनले सरकारले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रणका लागि देखावटी रुपमा मात्रै नभइ साँच्चिकै पहल लिन आवश्यक भएको बताए । ‘म सरकारलाई अनुरोध गर्न चाहन्छु, देखावटी रुपमा होइन, साँच्चै मूल्यवृद्धि नियन्त्रण गर्ने गर्ने, कालोबजारी नियन्त्रण गर्ने गरी सरकारले आफ्नो उपस्थिति देखाओस्,’ उनले भने ।