कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत दिने भएको छ ।

मुख्यमन्त्री कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । त्यसका लागि प्रदेशसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

माओवादी केन्द्रको प्रदेश कमिटीको सचिवालय बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, त्यसका लागि केन्द्रीय कमिटीको सहमति भने लिइने प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले बताए ।

‘केन्द्रमा हामीसँगै गठबन्धनमा छौँ । त्यसैले मुख्यमन्त्री कार्की हाम्रो पनि मुख्यमन्त्री हो । केन्द्रको सत्ता गठबन्धनलाई बचाउन भएको सहमति अनुसार नै हामीले विश्वासको मत दिन्छौँ,’ उनले भने ।

कांग्रेसका कार्की एमालेका ३९ र कांग्रेस नेता शेखर कोइराला समूहका ८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आइतबार शपथ ग्रहणलगत्तै एमाले र कांग्रेसका एक(एक जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।