विपिन जोशीको खोजीका लागि हमाससँग सम्बन्ध भएका देशहरूसँग पहल गर्दै नेपाल

काठमाडौं ।  परराष्ट्रमन्त्री एनपी साउदे इजरायलमा सम्पर्कबिहीन विपिन जोशीको खोजीका लागि हमाससँग सम्बन्ध भएका देशहरूसँग पहल भइरहेको बताएका छन् ।  सोमबार काठमाडौंमा सुदूरपश्चिम पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनले जोशीको खोजी कार्य तीव्र रुपमा भइरहेको बताएका हुन् ।

उनले भने, ‘हराइरहेका विपिन जोशीको खोजीका लागि इजरायल सरकारसँग मात्र नभएर हमाससँग सम्बन्ध रहेका भनिएका खाडीका मुलुकहरूसँग पनि छलफल भइरहेको छ ।’ हमासको सम्बन्ध खाडीको कतारसँग राम्रो भएको बताइन्छ । कतारसँग नेपालको सम्बन्ध पनि राम्रो छ । कतारसँग पहल गरेको मन्त्री संकेत गरे पनि कुन देशसँग हो भन्ने विषयमा भने खुलाएनन् ।

सात अक्टुबरमा इजरायलमा हमासले आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । एक जना हराइरहेका छन् । हराइरहेका जोशीलाई हमासका लडाकुले आफूसँगै लिएको नेपाल फर्किका नेपाली विद्यार्थीहरूले बताएका छन् ।