एनसेल खरिदबिक्रीमा अनिमियतता भए कानुनबमोजिम कारबाहीको दायरामा ल्याउने : मन्त्री शर्मा

काठमाडौं । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री गर्दा अनियमितता भएको पाइएमा सम्बन्धित सबैलाई तत्काल कानुनबमोजिम कडा कारबाहीको दायरामा ल्याउने प्रस्ट पारेको छ । मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता साझेदार दलहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले एनसेलको सेयर खरिदबिक्रीका सन्दर्भमा अध्ययन गर्न सरकारद्वारा समिति गठन गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । सत्ता साझेदार राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छानबिनका लागि समिति गठन गर्ने निर्णय भएको बताउनुभयो ।

एनसेलको कारोबार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारी नगराई अस्वाभाविक प्रावधान तथा मूल्यमा खरिदबिक्री भएको देखिने उहाँले बताउनुभयो । कारोबारबारे अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्सिर १८ गते सम्बन्धित निकायलाई निर्देशन दिइसक्नु भएको जनाएको छ।

सञ्चारमन्त्री शर्माले एनसेलको सेयर खरिदबिक्रीका सम्बन्धमा प्रकाशित समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै नेपाल र नेपालीको हित संरक्षण तथा प्रचलित कानुनको पालना गर्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको प्रस्ट पार्नुभयो ।

नेपाल सरकारले एनसेलको सेयर खरिदबिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने उहाँले बताउनुभयो ।