पूर्वमन्त्री बुढाथोकीको निधन

झापा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेका बुढाथोकीको गए राति ११ः३० बजे उपचारकै क्रममा विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको हो ।

तत्कालीन पञ्चायतकालमै विसं २०४३ मा जनपक्षीय उम्मेदवार उनी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका थिए । निर्वाचित भएपछि उनी जलस्रोत राज्यमन्त्री बन्न सफल भएका थिए । उनी विसं २०६४ मा कांग्रेसका तर्फबाट झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् भने विसंं २०७० मा संविधानसभा सदस्यमा समेत निर्वाचित भएका थिए ।