आज राति पोर्चुगल र सर्वियाकाे घम्साघम्सी

काठमाडौं । विश्वकप फुटबलको युरोपियन छनोट अन्तर्गत आज (शनिबार) राति १० खेल हुँदैछन्। समूह ‘ए’ मा रहेको पोर्चुगल आफ्नो दोस्रो खेलमा सर्वियासँग भिड्दै छ ।

समूह ‘इ’ को बेल्जियम भने चेक रिपब्लिकसँग खेल्दैछ।

रेड स्टार रंगशालामा घरेलु टिम सर्वियाले पोर्चुगलसँग नेपाली समयअनुसार राति १ः३० बजे प्रतिस्पर्धा गर्नेछ।  यी दुबै टिमले यसअघिको पहिलो खेलमा जित निकालेका थिए।

पोर्चुगलले अजरबैजानलाई १–० गोलअन्तरले पराजित गरेको थियो। यता, सर्वियाले आयरल्यान्डलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा मैदानमा उत्रिने पोर्चुगल लगातार दोस्रो खेलमा जित निकाल्ने दाउँमा छ। यता, सर्विया भने आफ्नै मैदानमा पोर्चुगललाई रोक्ने प्रयासमा हुनेछ।

त्यस्तै, समूह ‘इ’ को बेल्जियम र चेक रिपब्लिकबीचको खेल पनि नेपाली समयअनुसार राति १ः३० बजे नै सुरु हुनेछ। इडेन ऐरिनामा हुने खेलमा घरेलु टिम चेक रिपब्लिक बेल्जियमलाई पराजित गर्ने लक्ष्यमा हुनेछ। यी दुबै देशले आफ्नो पहिलो खेलमा जित निकालेका छन्।

बेल्जियमले आफ्नो पहिलो खेलमा वेल्सलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो। यता, चेक रिपब्लिकले भने इस्टोनियालाई ६–२ गोलअन्तरले पराजित गरेको थियो।

त्यस्तै, आज राति नै हुने खेलमा २०१८ को विश्वकप आयोजना गरेको रसियाले स्लोभेनियासँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, क्रोसियाले साइप्रससँग खल्नेछ।यता समूह ‘जी’मा नर्वे र टर्कीबीच प्रतिस्पर्धा हुनेछ।

आयरल्यान्ड र लक्जमवर्ग, बेलारुस र इस्टोनिया, मोन्टेनेग्रो र जिब्राल्टार, नेदरल्यान्ड्स र लात्भिया, स्लोभाकिया र माल्टाबीच प्रतिस्पर्धा हुनेछ।