सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन उपप्रमको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पताललाई जनतामैत्री बनाउन निर्देशन दिएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ५ मा पर्ने चार ठूला सरकारी अस्पतालका प्रमुखसँगको आजको बैठकमा उनले असहाय र गरिब जनताको भरोसा नै सरकारी अस्पताल भएकाले अस्पतालको सेवामा सुधार गरी बिरामीलाई राहत दिन निर्देशन दिएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले बाँसबारीस्थित गङ्गालाल अस्पताल पुगी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, गङ्गालाल हृदयरोग केन्द्र र नेपाल प्रहरी अस्पतालले प्रदान गर्दै आएका सेवा, सुविधा र समस्या समाधानका विषयमा छलफल गरेका थिए । नेकपा (एमाले) का महासचिवसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले गत निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धताअनुसार सरकारी अस्पतालको सेवा सहज, सरल र गुणस्तरीय बनाउन आफू प्रतिबद्ध रहेको बताए ।