गत २४ घण्टामा कोरोनाबाट नेपालमा १७ जनाको ज्यान गयो

काठमाडौं । नेपालमा विगत २४ घण्टामा काठमाण्डौ उपत्यकामा दुई हजारसहित थप ४,८९७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो हालसम्मको तेस्रो सवैभन्दा बढी सङ्क्रमण सङ्ख्या हो।

नेपालमा गत वर्ष कार्तिक ५ गते सर्वाधिक सङ्ख्यामा ५,७४३ जनामा र असोज २४ गते ५,००८ सङ्क्रमण पुष्टि भएको थियो। सो सङ्क्रमण १३,८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजन परीक्षण गर्दा पुष्टि भएको हो।

नेपालमा कोभिड–१९ का कारण गत २४ घण्टाको समयावधिमा १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३,२११ पुगेको छ।

नेपालमा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता गत वर्षको कार्तिक १९ गते ३० जना र मङ्सिर १५ गते २९ जनाको निधन भएको थियो। यो वर्ष कोरोनाभाइरसको सङ्क्रमण बढेयता यसअघि सबैभन्दा बढी गत आइतवार २८ जनाको निधन भएको थियो।