पाँचखाल नगरपालिकाको जुगाड, मेयर उपमेयरको गाडीलाई एम्बुलेन्स बनाइयो

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका मेयर-उपमेयरले पनि एम्बुलेन्सकाे लागि जुगाड लगाएका छन् । उनीहरूले आफू चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका छन् । नगरप्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवारले आफूले प्रयोग गर्दै आइरहेको सरकारी गाडी कोभिड-१९ का बिरामीलाई अस्पताल लैजान एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने भएका हुन् ।

 

नगरप्रमुख खरेलले आफ्नो एउटा निजी गाडी समेत कोभिड-१९ का बिरामी बोक्नका लागि दिने भएका छन् । नगरप्रमुख खरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै नगरभित्र सञ्चालित चार वटा एम्बुलेन्सले मात्रै कोभिड-१९ का बिरामी बोक्न नसक्ने अवस्था देखिएपछि बा १ झ ९१०९, बा १९ प ५६६८ र बा २ झ १४९४ नम्बरको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयो गर्ने निर्णय भएको बताए ।