बजारमा छैन अनाज उत्तम 

देखेँ नि मैले पिँजराहरू नयाँ
चराहरू गायक छन् रुँदै त्यहाँ
बेचे किनेका बबुरा सुधा चरा
भविष्य कालो तिनको कठै बरा ।।
रूखा घिचाहा सब दुष्ट घातक
चुहाउँछन् राल बनेर तक्षक
डुब्यो धरा यो मद-भेल रक्तले
शिकार गर्दा नरबाघ बाजले ।।
भयो बजारै मद मासुमा प्रिय
पैसा भयो माध्यम खोज्दछन् जय
आस्था बगाए रसमा डुबे नर
आमा रुहाए झगडा निरन्तर।।
अखाद्य नै व्यापक भो जताततै
छन् शक्तिका बाघ नितान्त उफ्रँदै
मारेर प्राणी मनपेट भर्दछन्
डाँकाहरू शासनमा रमाउँछन् ।।
बजारमा छैन अनाज उत्तम
सोसिन्छ हेपिन्छ किसानको श्रम
धुजा ध्वजा भो रिषि सभ्यता स्वर
उन्मादमा छन् नर हुन् कि वानर?।।
२०७८।०१।२९। लेखिएकाे कविकाे फेसबुकबाट साभार ।